
बैतडीको सिगास गाउँपालिकामा आजदेखि पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ। सिगास गाउँपालिका वडा नं. २ अर्जुन मावि गाँजरीको प्राङ्गणमा आयोजित एक कार्यक्रमकाबीच प्रतियोगिताको उद्घाटन गरिएको थियो। सिगास गाउँपालिकाका शिक्षा शाखा प्रमुख रमेशप्रसाद भट्टले यो जानकारी दिएका छन्।

सिगास गाउँपालिकामा आयोजित आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पालिकाभरिका १५ वटा माध्यमिक विद्यालयहरूको सहभागिता रहेको छ। प्रतियोगिता अन्तर्गत छात्र/छात्रा भलिबल, कबड्डी, र एथलेटिक्सका खेलहरू सञ्चालन हुने छन्। यो प्रतियोगिता पौष २८ गतेसम्म सञ्चालन हुने जानकारी दिइएको छ।

प्रतियोगिताको उद्घाटन सत्रमा सिगास गाउँपालिका-१ का वडा अध्यक्ष रामचन्द्र ऐरीको अध्यक्षतामा कार्यक्रम भएको थियो, जसमा सिगास गाउँपालिकाकी उपाध्यक्ष धाना धामी प्रमुख अतिथि थिइन्।

यो प्रतियोगिता सिगास गाउँपालिकाको आयोजना तथा अर्जुन मावि गाँजरीको व्यवस्थापनमा सञ्चालन भइरहेको हो। प्रतियोगिताबाट जिल्लास्तरीय प्रतियोगिताका लागि सिगासको टीम तयार हुने अपेक्षा गरिएको छ।
प्रतियोगिताको पहिलो दिन सिगासमा विभिन्न दौड, भलिबल, कबड्डी र शिक्षक कर्मचारीहरूको बीचमैत्रीपूर्ण भलिबल खेल सम्पन्न भएको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख भट्टले जानकारी दिएका छन्।


































