


कैलालीको गोदावरी धाममा कुम्भ मेलाको भव्य तयारी अन्तिम चरणमा पुगेको छ। २०७२ सालमा महाकुम्भ मेला आयोजना गरेपछि चर्चित बनेको गोदावरी धाममा यस वर्ष ‘लघु कुम्भ’ अर्थात् बाह्र राशि मकर मेलाको आयोजना गरिँदैछ, जसको तयारी भव्य रूपले भइरहेको छ। कुम्भ मेलाको लागि गोदावरी धाममा मञ्च निर्माण, स्नान कुण्ड र कलश निर्माणजस्ता संरचनाहरू तयार पारिएका छन्। मेलामा प्रत्येक राशि अनुसार पूजा गर्न छुट्टा-छुट्टै कलश राखेर पूजा गर्ने व्यवस्था गरिएको छ र धामलाई सरसफाइ गरी चिटिक्क बनाइएको छ।
गोदावरी विकास धाम समितिका अध्यक्ष पदम राज जोशीका अनुसार, २०७२ सालको महाकुम्भ मेला पछि प्रत्येक वर्ष १२ दिवसीय बाह्र राशि दर्शन मकर मेला आयोजना गर्दै आएको बताए। उनले भने, “यो लघु कुम्भको रूपमा मानिन्छ। हाम्रो शास्त्रीय मान्यताअनुसार, सम्पूर्ण ब्रह्माण्डलाई बाह्र भागमा विभाजन गरिएको छ र ती बाह्र राशिमध्ये कुम्भको योग कुनै एक राशिमा पर्ने गर्छ, त्यसैले हामी बाह्र राशि दर्शन मकर मेला आयोजना गर्दै आएका छौं।” मकर मेलाको उद्घाटन पुस २९ गते (सोमवार) दिउँसो १ बजे हुने जानकारी उनले दिए।
जोशीले २०८४ सालमा आयोजना हुन गइरहेको महाकुम्भ मेलाको प्रस्थान बिन्दुको शुभारम्भ पनि यस वर्षबाट गर्न लागिएको बताए। उनले गोदावरीमा आउने प्रत्येक श्रद्धालुलाई सङ्कल्पकर्ताको रूपमा लिई, उनीहरूको सङ्कल्पबाट महाकुम्भ मेला आयोजना गर्ने तयारी भइरहेको उल्लेख गरे। मेला प्राङ्गणमा कुम्भ बाटिकामा दीप प्रज्वलन गरिने पनि उनले जानकारी दिए।
गोदावरी नगरपालिकाले संरक्षकको भूमिकामा रहेर नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, विभिन्न संघसंस्थाहरू र सामाजिक व्यक्तित्वहरूको सहयोगको ख्याल राखेर मेला आयोजना गर्न लागिएको छ। मेलामा बाह्र राशि नवग्रह, सत्ताइस नक्षत्रको स्थापना, लक्ष्य हवन, विभिन्न पुराणहरूको पाठ, ग्रह पूजा, ग्रह शान्ति, भजनकिर्तन र प्रवचनहरू पनि हुने आयोजक गोदावरी धाम विकास समितिले जनाएको छ। मेला माघ १२ गतेसम्म सञ्चालन हुने छ।
गोदावरी धाममा प्रत्येक १२ वर्षमा महाकुम्भ, प्रत्येक ६ वर्षमा अर्ध कुम्भ मेला र प्रत्येक वर्ष बाह्र राशि दर्शन मकर मेला आयोजना गरिन्छ। २०७२ सालमा गोदावरीमा माघीको दिनदेखि एक महिने ‘अमृत महास्नान दिव्य सहस्त्र कुम्भ दर्शन मेला’ पनि आयोजित भएको थियो।






























