
हमास-इजरायल युद्धविरामसँगै कञ्चनपुरका विपिन जोशीको परिवार छोराको सकुशल घर फर्किने आशामा छन्। पन्ध्र महिनादेखि हमास समूहको नियन्त्रणमा रहेका विपिनको रिहाइको खबरले परिवारलाई ढुक्क भने बनाएको छैन।

विपिनका आमा पदमा जोशीका अनुसार युद्धविरामपछि पहिलो चरणमै विपिन छुट्ने अपेक्षा थियो, तर सूचीमा नाम नदेख्दा परिवार पुनः निराश बनेको छ। पदमाले भनिन्, “पहिलो चरणमा भएन, तर यसपटक मेरो निर्दोष छोराको रिहाइ हुनेमा आशा छ। युद्ध फेरि हुने डर छ, जसरी हुन्छ सरकारले छोराको सकुशल रिहाइ गराओस्।”
विपिन ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल गएका सुदूरपश्चिम विश्वविद्यालयका ४९ विद्यार्थीमध्ये एक हुन्। गएको एक महिनामै हमास समूहले इजरायलको अलिमुम किबुजमा आक्रमण गर्दा १० विद्यार्थीको मृत्यु भएको थियो भने विपिनलाई नियन्त्रणमा लिइएको थियो।


इजरायल सरकारले युद्धविरामको पहिलो चरणमा ३३ बन्धक रिहा गर्ने सूची सार्वजनिक गरिसकेको छ, जसमा विपिनको नाम छैन। परिवारलाई सरकारले कूटनीतिक प्रयास जारी राखेको आश्वासन दिएको छ। गृहमन्त्री रमेश लेखकले विपिनको रिहाइका लागि गम्भीर पहल भइरहेको बताएका छन्।
विपिनको परिवार अहिले पनि दोस्रो चरणमा छोराको नाम आउने र उनको सकुशल रिहाइ हुने आशामा छ। युद्धविराम कायम रहेर छोराको मुक्तिको खबर सुन्न पाउने अपेक्षामा परिवारले सरकारसँग निरन्तर पहलको माग गरेको छ।






























