
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध आप्रवासीहरू विरुद्ध कडा कारबाही अघि बढाएपछि ग्वाटेमालाका २६५ नागरिक अमेरिकी सेनाका विमानमार्फत स्वदेश फर्काइएका छन्।

मध्य अमेरिकी देश ग्वाटेमालाको आप्रवासन संस्थानका अनुसार तीनवटा उडानमार्फत यी नागरिकलाई ग्वाटेमाला ल्याइएको हो। वासिङ्टनले बिहीबार मेक्सिकोतर्फ चारवटा निर्वासन उडान पनि पठाएको ह्वाइट हाउसका प्रेस सचिवले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत जानकारी दिएका छन्।
मेक्सिको सरकारले यी उडानहरू कुनै औपचारिक सम्झौताको संकेत नरहेको जनाएको छ। तर, मेक्सिकोको विदेश मन्त्रालयले भने आफ्ना नागरिकहरूको निर्वासनका विषयमा वासिङ्टनसँग सहकार्य गर्न तयार रहेको बताउँदै, “मेक्सिकोले आफ्ना नागरिकहरूको आगमनलाई खुला हृदयले स्वीकार गर्ने” उल्लेख गरेको छ।


ह्वाइट हाउसका अनुसार पछिल्ला दुई दिनमा एक हजारभन्दा बढी व्यक्तिलाई पक्राउ गरिएको छ। बिहीबार ५३८ जना र शुक्रबार ५९३ जना अवैध आप्रवासीहरू पक्राउ परेका छन्। अमेरिकी प्रशासनले यो अभियानलाई “इतिहासकै सबैभन्दा ठूलो निर्वासन अभियान” भन्दै वर्णन गरेको छ।
ट्रम्पका पूर्ववर्ती राष्ट्रपति जो बाइडेनको कार्यकालमा पनि निर्वासन उडानहरू नियमित रूपमा सञ्चालनमा थिए। सन् २०२४ मा मात्र २,७०,००० व्यक्तिलाई निर्वासित गरिएको थियो, जुन पछिल्लो एक दशककै उच्च संख्या हो। सोही अवधिमा १,१३,४०० व्यक्तिलाई गिरफ्तार गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको थियो।





























