
दोहा: कतार सरकारले गैरकानुनी रूपमा बसिरहेका तथा कागजातविहीन आप्रवासी कामदारलाई आममाफी प्रदान गरेको छ। कतारको आन्तरिक मन्त्रालयले आप्रवासीहरूको प्रवेश, निकास, र निवास नियमन गर्ने २०२५ को कानुन नम्बर २१ को उल्लंघन गर्नेहरूलाई तीन महिनाभित्र बिनाजरिमाना स्वदेश फर्कन पाउने व्यवस्था मिलाएको जनाएको छ।
९ फेब्रुअरीदेखि लागू
मन्त्रालयको सूचनाअनुसार, रेसिडेन्सीसम्बन्धी कानुन उल्लंघन गर्ने वा प्रवेश भिसाको अनुमतिभन्दा बढी बस्नेहरूका लागि यो नियम ९ फेब्रुअरी २०२५ बाटै लागू गरिएको हो।
- आवासीय परिचयपत्र (QID) नबनेका, म्याद नाघेका वा नवीकरण नभएका आप्रवासीहरूले तोकिएको अवधिभित्र प्रस्थान प्रक्रिया पूरा गर्नुपर्नेछ।
- आममाफी पाएकाहरूलाई कुनै पनि जरिमाना तिर्नु नपर्ने तथा सहज रूपमा देश छोड्न सक्ने व्यवस्था गरिएको छ।
कहाँ सम्पर्क गर्ने?
गैरकानुनी रूपमा बसेका आप्रवासीहरूले दिउँसो १ बजेदेखि राति ९ बजेसम्म हमाद अन्तर्राष्ट्रिय विमानस्थल वा सलवा रोडस्थित खोज तथा अनुगमन विभाग (Search and Follow-up Department) मा गएर प्रक्रिया पूरा गर्न सक्नेछन्।
९ मेसम्मको समयसीमा
कतार सरकारले यो आममाफी कार्यक्रम ९ फेब्रुअरीदेखि ९ मे २०२५ सम्म लागू गर्ने निर्णय गरेको छ।
नेपाली कामदारलाई सहजता
कतारमा रहेका गैरकानुनी नेपाली कामदारहरू अब यो आममाफीको फाइदा उठाउँदै बिनाजरिमाना स्वदेश फर्कन सक्नेछन्। यस प्रक्रियालाई सहज बनाउन दोहास्थित नेपाली दूतावासले ट्राभल डकुमेन्ट (यात्रा कागजात) उपलब्ध गराउने जनाएको छ।
हाल कतारमा ३ लाख १२ हजार ६५० जना नेपाली कार्यरत रहेको अनुमान छ। तीमध्ये ११ हजार ९० जना महिला रहेका छन्। तर, कतारमा हाल कति नेपाली गैरकानुनी रूपमा छन् भन्ने आधिकारिक तथ्यांक भने उपलब्ध छैन।
यो आममाफी कतारमा रहेका नेपाली श्रमिकहरूका लागि महत्वपूर्ण अवसर भएको बताइएको छ।































