
जिल्लाको बेलौरी नगरपालिका–२ टेडुवा गाउँस्थित गहुँबारीमा पसेको बाघलाई नियन्त्रणमा लिइएको छ।

डिभिजन वन कार्यालय, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालय र राष्ट्रिय प्रकृति संरक्षण कार्यालयका प्राविधिकहरूको टोलीले हात्तीबाट डाँट गरी बेहोस पार्दै बाघलाई नियन्त्रणमा लिएको डिभिजन वन अधिकृत राम विचारी ठाकुरले जानकारी दिए।

उनका अनुसार नियन्त्रणमा लिइएको भाले बाघलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्य भागमा लगेर छोडिनेछ। टेडुवास्थित गहुँबारीमा शनिबार बिहानदेखि बाघ देखिएको थियो, जसले एउटा चौपाया समेत खाएको पुष्टि भएको छ।

बाघ गहुँबारीमा पसेपछि स्थानीयहरू त्रसित बनेका थिए। सम्बन्धित निकायको सक्रियताले बाघलाई सुरक्षित रूपमा नियन्त्रणमा लिन सकिएको जनाइएको छ।






























