“बैतडी जिल्ला अस्पतालको विकासमा सबैको साथ अमूल्य रह्यो” – अध्यक्ष पार्वती भट्टको भव्य बिदाइ

Image
Nisarga Hospital

बैतडी जिल्ला अस्पतालकी अध्यक्ष पार्वती भट्ट ले आफ्नो दुई कार्यकालको नेतृत्व सफलतापूर्वक सम्पन्न गर्दै सम्पूर्ण सहयोगी पक्षलाई हार्दिक धन्यवाद व्यक्त गर्दै भव्य बिदाइ प्राप्त गरेकी छन्। अस्पतालको सुधार, सेवा विस्तार, र गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न अहोरात्र क्रियाशील रहँदा सबै पक्षबाट प्राप्त साथ, सहयोग र समर्थन अमूल्य रहेको उनले उल्लेख गरिन्।

CP Hospital Dhangadhi

“अस्पतालजस्तो संवेदनशील क्षेत्रमा महिलाको नेतृत्व चुनौतीपूर्ण थियो। तर, सबैको निरन्तर सहयोगले मलाई हौसला दियो, जसका कारण अस्पताललाई देशभरकै उत्कृष्ट बनाउन सफल भयौं,” भट्टले भनिन्। उनका अनुसार, अस्पताललाई न्यूनतम सेवा मापदण्डको आधारमा देशभरकै पहिलो स्थानमा पुर्‍याउने सफलता अस्पताल प्रशासन, चिकित्सक टिम, प्रदेश सरकार, स्थानीय सरकार, नागरिक समाज, बुद्धिजीवी वर्ग, तथा सम्पूर्ण बैतडीवासीको संयुक्त प्रयासको परिणाम हो।

उनले आफ्नो कार्यकालमा अस्पतालको पूर्वाधार विकास, सेवा विस्तार, र सहज स्वास्थ्य सेवाको पहुँचमा विशेष ध्यान दिएकी थिइन्। “सेवाग्राहीले मेरो नेतृत्वमा अस्पतालले हासिल गरेका उपलब्धिहरू अनुभूति गरिरहनुभएको छ भन्ने मलाई विश्वास छ,” उनले थपिन्।

nawajiwan
Attariya Hospital

भविष्यमा पनि स्वास्थ्य सेवा सुधार तथा सामाजिक विकासमा उत्तिकै सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्दै, दुई कार्यकालसम्म नेतृत्वको जिम्मेवारी दिने पार्टी नेतृत्व तथा प्रदेश सरकारप्रति उनले विशेष आभार प्रकट गरिन्।

“यो सिकाइ र अनुभव मेरो लागि बहुमूल्य रह्यो। आगामी दिनमा पनि स्वास्थ्य सेवाको स्तरोन्नतिमा मेरो निरन्तर योगदान रहनेछ,” भट्टले बताइन्।

उनको योगदानको सम्मानस्वरूप अस्पताल प्रशासन, चिकित्सक टिम तथा स्थानीय सरकारका प्रतिनिधिहरूले भव्य बिदाइ समारोह आयोजना गर्दै उनलाई आगामी यात्राका लागि शुभकामना व्यक्त गरेका छन्।