
कञ्चनपुरः कञ्चनपुरको कृष्णपुर नगरपालिकाका पूर्व नगरप्रमुख कर्ण बहादुर हमालले आफ्ना तीन सन्तानलाई स्थानीय महाकाली माध्यमिक विद्यालयमा भर्ना गराउँदै सरकारी विद्यालयप्रति सकारात्मक सन्देश दिएका छन्।

हमालले आफैँ विद्यालयमा पुगेर आफ्ना नानीहरूको भर्ना प्रक्रिया पूरा गरेका हुन्। उनले भने, “महाकाली मावि दिनप्रतिदिन शिक्षाको क्षेत्रमा अब्बल बन्दै गएको छ। यहाँका दक्ष शिक्षक, गुणस्तरीय शिक्षा, उत्कृष्ट भौतिक संरचना र बस सेवा जस्ता सुविधाले विद्यार्थीहरूलाई सहज बनाएको छ, त्यसैले मैले आफ्ना नानीहरू यहीं भर्ना गरें।”
उनका अनुसार, नगरप्रमुखका रूपमा कार्यरत रहँदा उनले सरकारी विद्यालयहरूको अवस्था नजिकबाट अवलोकन गरेका थिए। हमालले थपे, “पहिले आफैंले सरकारी विद्यालयमा आफ्ना बच्चा भर्ना गरेर उदाहरण प्रस्तुत गर्नुपर्छ। निजी विद्यालयमा आफ्ना सन्तान राखेर अरुलाई सरकारी विद्यालय रोज्न सुझाव दिनु उचित हुँदैन।”

नानीहरू भर्ना गराउँदा आफू अत्यन्त खुशी भएको उल्लेख गर्दै उनले विद्यालयका शिक्षक र अभिभावकबीच राम्रो समन्वय गरी उच्चस्तरीय शिक्षा दिनुपर्नेमा जोड दिए।

महाकाली माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमिन प्रसाद दहितले पूर्व मेयर हमालको निर्णयलाई सबै अभिभावकका लागि प्रेरणादायी कदमको रूपमा लिएका छन्। उनले भने, “पूर्व मेयरज्यूले आफ्ना सन्तानलाई निजी विद्यालयबाट सरकारी विद्यालयमा ल्याउनु सकारात्मक सन्देश हो। हाम्रो विद्यालयमा दक्ष शिक्षक छन् र गुणस्तरीय शिक्षा प्रदान भइरहेको छ।”
महाकाली माविमा शिशु कक्षादेखि कक्षा ५ सम्म अंग्रेजी माध्यममा र कक्षा ६ देखि अंग्रेजी तथा नेपाली दुवै माध्यममा पढाइ हुँदै आएको छ। विद्यालय व्यवस्थापन समितिका अनुसार विद्यालय दिनप्रतिदिन थप व्यवस्थित बन्दै गएको छ।
यद्यपि, शिक्षकहरूको आन्दोलनका बीच पनि विद्यालयमा भर्ना अभियान सक्रिय रूपमा जारी छ। समितिले सरकारसँग शिक्षकहरूको मागप्रति शीघ्र ध्यान दिन र शिक्षा क्षेत्रको स्थायित्वका लागि सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिएको छ।






























