
अत्तरिया : वडा नं १२ को नवौं वडा भेलामा विभिन्न क्षेत्रहरूमा महत्वपूर्ण योगदान पु¥याउने व्यक्तित्वहरूलाई विशेष सम्मान गरेको छ । वडा कार्यालय भवन निर्माणका लागि आवश्यक जग्गा दान गर्ने वडा निवासी शेरबहादुर वि.क र प्रेम बडैलालाई वडाले विशेष सम्मान प्रदान गरेको हो । चालू आर्थिक वर्षमा वडाको भवन निर्माणका लागि नगरपालिकाले बजेट बिनियोजन गरेको थियो ।

नगरपालिकाले चालू आर्थिक वर्षमा उक्त वडाको भवन निर्माणका लागि ६२ लाख ६५ हजार २८३ रुपैया बिनियोजन गरेको छ । जसको निर्माणको जिम्मा श्री उप्रेती बिल्डर्स एण्ड इन्जिनियर्स प्रा. लि. ले पाएको छ ।

सञ्चार क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएका ‘टीभी टुडे सुदूरपश्चिम’ मा कार्यरत पत्रकार अनिल पन्तलाई समेत सम्मान प्रदान गरिएको थियो । समाजसेवा र बौद्धिक योगदानका लागि करी कामी तथा कर्णसिंह बडेलालाई पनि कार्यक्रममा सम्मानित गरिएको थियो । यस्तै, कक्षा ८ मा उत्कृष्ट नतिजा हासिल गर्ने पाँच जना विद्यार्थीहरूलाई समेत प्रोत्साहन स्वरूप सम्मान गरिएको हो

।
विभिन्न सामाजिक विकास सेवा तथा अतिरिक्त क्रियाकलापहरूमा सक्रिय रूपमा सहयोग पु¥याउने अन्य व्यक्तित्वहरूलाई समेत सम्मान गरिएको वडा कार्यालयले जनाएको छ । निर्माण सेवामा गुणस्तरीय कार्य सम्पन्न गर्ने निर्माण सेवा व्यवसायी जनश बडैला र धर्म देव ओझालाई पनि सम्मान गरिएको थियो । यस्तै सिंचाइ क्षेत्रमा योगदान पुर्याउने प्रेमसिंह बडैला सम्मानित भएका थिए ।






























