
गोदावरी: गोदावरी नगरपालिकामा आज एशियन विकास बैंक (ADB) को टिमसँग वित्त व्यवस्थापनसम्बन्धी महत्वपूर्ण छलफल सम्पन्न भएको छ। छलफल गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्टको अध्यक्षतामा सम्पन्न भएको हो।


ADB टिमबाट रचना श्रेष्ठ (Senior Public Management Specialist), कृष्ण पाठक (Senior Public Management Officer), र रूपक शर्मा (Consultant) सहभागी थिए। गोदावरी नगरपालिकाका उपप्रमुख शारदा रोकाया, प्रमुख प्रशासकीय अधिकृत धर्म राज बिनाडी तथा सबै शाखा प्रमुखहरूको उपस्थिति रहेको उक्त छलफलमा वित्तीय पारदर्शिता, स्रोत व्यवस्थापन, राजस्व संकलन, लैंगिक समानता, सार्वजनिक खर्चको प्रभावकारिता तथा नीति निर्माणका विविध पक्षमा विस्तृत कुराकानी भएको थियो।



ADB प्रतिनिधिहरूले गोदावरी नगरपालिकाको वर्तमान आर्थिक परिस्थिति हेर्दै स्थानीय तहमा वित्तीय अनुशासन र पारदर्शिता आवश्यक रहेको उल्लेख गर्दै, नीति निर्माणका कामहरूमा आगामी असार मसान्तसम्म सहजीकरण गर्न अनुरोध गरेका थिए। साथै, वैज्ञानिक सम्पत्ति आर्जन, स्रोत नक्साङ्कन (Resource Mapping), र लैंगिक दृष्टिकोणलाई पनि नीतिमा समावेश गर्नु पर्ने आवश्यकता औंल्याइएको थियो।

छलफलको क्रममा नगर प्रमुख भट्टले सबै शाखा प्रमुखहरूलाई आगामी दिनमा नियम, कानुन तथा नीति अनुरूप जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएका छन्। उनले सार्वजनिक सेवाप्रति जवाफदेहीता र समन्वयमा आधारित कार्य सम्पादनले मात्र जनअपेक्षा पूरा गर्न सकिने स्पष्ट पारे।

नगर प्रमुख भट्टले ADB टिमलाई गोदावरी नगरपालिकामा आएको र मूल्यवान सुझाव प्रदान गरेकोमा धन्यवाद दिँदै भविष्यमा समेत यस्ता सहकार्यको अपेक्षा व्यक्त गरे।






























