
अत्तरियाः कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालयले आफ्नै पहिलो पोडकास्ट कार्यक्रम “DLS Talk” सार्वजनिक गरेको छ। शनिवार आयोजित एक विशेष समारोहका बीच गेटा अस्पतालका निर्देशक डा. प्रमोद यादव र पंजगव्य सिद्ध लीला श्रेष्ठले संयुक्त रूपमा पोडकास्टको उद्घाटन गरेका हुन्।

“Voice of Durgalakshmi” भन्ने नारासहित ल्याइएको यो पोडकास्ट विद्यालयबाट सञ्चालित पहिलो डिजिटल माध्यम हो, जसमा विविध क्षेत्रका व्यक्तित्वहरूसँग संवाद गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश शाहले जानकारी दिए।
शाहका अनुसार पहिलो एपिसोडमा पंजगव्य सिद्ध लीला श्रेष्ठसँग गरिएको अन्तर्वार्ता प्रस्तुत गरिएको छ, जुन चाँडै विद्यालयको आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गरिनेछ। कार्यक्रममा अध्यक्ष शाहले यस्तो शैक्षिक प्रविधि र सिर्जनात्मक अभिव्यक्तिका माध्यमहरूले विद्यार्थी र समाज दुबैलाई प्रेरित गर्ने विश्वास व्यक्त गरे।


विद्यालयले सोही दिन पोडकास्ट कार्यक्रमको इन्ट्रो (प्रस्तावना भिडियो) समेत सार्वजनिक गरेको छ, जुन फेसबुक पेजमा हेर्न सकिनेछ। प्रविधिमैत्री शिक्षामा जोड दिँदै विद्यालयले डिजिटल अभिव्यक्तिका माध्यममार्फत विद्यार्थी, शिक्षक, अभिभावक र समुदायलाई नजिक ल्याउने उद्देश्यले DLS Talk सुरु गरेको हो।सुरुआती चरणमा शिक्षक, अभिभावक र विभिन्न पेशागत क्षेत्रका व्यक्तिहरूसँग संवाद केन्द्रित हुने जनाइएको छ।































