
अत्तरिया:- लागू पदार्थ दुर्व्यसनविरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले गोदावरी नगरपालिकाको ग्वासि माध्यमिक विद्यालयमा आयोजित लागु पर्दाथ दुर्व्यसनी सम्बन्धी जनचेतनामूलक कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख विरेन्द्र भट्टले विद्यार्थीको उज्ज्वल भविष्य निर्माणमा अभिभावकको भूमिका अत्यन्त महत्वपूर्ण हुने बताएका छन्।

उनले कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरू संवेदनशील उमेर समूहमा पर्ने भएकाले उनीहरू नकारात्मक व्यक्तिको संगतमा लाग्न सक्ने जोखिम रहेको उल्लेख गरे। यसलाई ध्यानमा राख्दै नगरपालिकाको प्रत्येक वडाको एक–एक विद्यालयमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको उनले जानकारी दिए।


नगरप्रमुख भट्टले अभिभावकहरूले विद्यालयमा पुगेर आफ्ना बालबालिकाको उपस्थिति, गतिविधि तथा अनुशासनका विषयमा विद्यालय प्रशासनसँग समन्वय गर्न आवश्यक रहेको बताए।
कार्यक्रममा सहभागी विद्यार्थीहरूले आफूहरूले सिकेका कुरालाई व्यवहारमा उतार्ने, अरूलाई पनि सन्देश फैलाउने, विभिन्न क्षेत्रमा छलफल गर्ने तथा आफ्नो व्यक्तित्व विकास गरी उज्ज्वल भविष्य निर्माण गर्नेमा विश्वस्त रहेको बताए।
































