
बझाङ : बझाङको छविसपाथिभेरा गाउँपालिका–७ की १४ वर्षीया करिना बोहरा आफ्नो आमा पटुदेवीसँगै भारतको केदारनाथ गएकी थिइन् । घरमा आफूसहित चार जना साना भाइबहिनीहरू थिए । एकल आमाको सहारा थिइन् उनी ।

उनकी आमा पटुको एक आँखा अशक्त छ । ३ वर्ष अगाडी बुबाको निधन भयो । उनी घरको आशा थिइन् । शुक्रबार बिहानतिर घाँस काट्ने क्रममा उनी केदारनाथको भीरबाट खसिन् । त्यो भन्दा केहि दिन अघि आमा पनि लडेर घाइते भएकी थिइन् । करिनाको घटनास्थलमै मृत्यु भयो ।
‘भीरबाट लडेकी उनको शव त्यही अड्केको थियो, त्यहाँका मान्छेले डोरीले तानेर अफ्ठेरो भीरमा रहेको उनको शव निकालियो, शव केही बाँकी थिएन, यस्तो पनि मरण कसैको नहोस् भन्छु मत यति सानो उमेरमा, पढ्ने हातले मजदुरी गर्नुपर्ने त्यसैमाथि यस्तो मृत्यु अँगाल्नुपर्ने,’उनकी गाउँले जानकी बुढाले भनिन् ।

जानकीका अनुसार करिनाकी आमा पटुदेवी एउटा आँखाले राम्रोसँग देख्दिनन् । सँगै गएकी छोरीलाई त्यो भीरमा गुमाउँदा उनी असहाय पिडामा गुज्रिएकी छिन् । श्रीमानको मृत्युपछि एकल महिला भत्ता, थोरै खेतीपाती र कहिलेकाहीँ गरेको मजदुरीबाट पटुले परिवार चलाइन् । यसबाट उनलाई चार जना सन्तानको पालनपोषण गर्न पर्याप्त भएन । अशक्त उनलाई काम गर्न गाह्रो हुन्छ । जब करिना ठुली भइन् तब उनले घरको सबै जिम्मेवारी पुरा गर्दै आएकी थिइन् ।

खोरीको सुर्यादय माध्यमिक विद्यालयमा कक्षा ९ मा पढ्थिन् करिना । ‘आमाको छायाजस्तै बनेर सानै उमेरमा ठुलो जिम्मेवारी लिएकी थिइन्, घरमा हुँदा पनि सबै काम गर्ने गर्थिन्, भाग्यले यस्तो गरायो,’ जानकीले भावुक हुँदै भनिन् ।
करिनाको अन्तिम संस्कार केदारनाथमै गरिइएको छ । आफन्तहरूले उनकी आमालाई त्यहाँबाट घर ल्याउँदैछन् । ‘अब घटनापछि आमालाई घर कसरी ल्याउने भन्ने चिन्ता छ । उनी धेरै पिडामा छिन्’ जानकीले भनिन् ।
जानकीका अनुसार करिनाको मृत्युपछि गाउँ नै शोकमा डुबेको छ । उनी भन्छिन्, ‘त्यहाँ गएकाहरू अरू पनि लडेर घाइते भए, अब तपाईँहरू फर्किनुहोस्, हामीले भन्या थियौँ—उहाँहरूले बाटो खर्च जोहो गरेर फर्किन्छौँ, भनेर भनेका थिए, जेठतिर गएकी थिइन् करिना आमासँग पढाई छोडेर आज यस्तो भयो, पीडा पनि हामीजस्तै गरिबलाई हुनेरहेछ ।’
पछिल्लो वर्ष बझाङकै छविसपाथिभेरा र दुर्गाथली गाउँपालिकाबाट आधा दर्जनभन्दा बढी महिला, बालिका, किशोरी र पुरुषले केदारनाथको भीरमा घाँस काट्ने क्रममा ज्यान गुमाइसकेका छन् । केदारनाथमा उनीहरूले खच्चड र घोडाका लागि ठेकेदारले भने बमोजिम घाँस काट्छन् र बिक्री गर्छन् । अप्ठ्यारो भीरमा घाँस काट्दा ज्यान गुमाउनेहरू धेरै छन् । धेरै घाइते पनि हुने गरेका छन् ।






























