
सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ बाट कैलालीको टीकापुरमा विज्ञान तथा प्रविधि विश्वविद्यालयको भौतिक पूर्वाधार निर्माण सुरु गर्ने भएको छ।

प्रदेश आर्थिक मामिला मन्त्री बहादुरसिंह थापाले आइतबार प्रदेश सभामा बजेट प्रस्तुत गर्दै विश्वविद्यालयको पूर्वाधार निर्माणका लागि ५ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको जानकारी दिए।

प्रदेश सरकारले विश्वविद्यालय स्थापनाको घोषणा गर्दै आवश्यक कानुनी प्रक्रिया अघि बढाइसकेको छ। विश्वविद्यालय स्थापनाले प्रदेशमै उच्चस्तरको विज्ञान तथा प्रविधि शिक्षा प्रवाह गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

शिक्षामा लगानी बढाउँदै प्राविधिक दक्ष जनशक्ति उत्पादन र नवप्रवर्तन प्रवर्द्धन गर्न विश्वविद्यालय स्थापना आवश्यक रहेको सरकारको भनाइ छ। प्रारम्भिक चरणमा पूर्वाधार निर्माण र संरचना विकासमा केन्द्रित हुने जानकारी दिइएको छ।































