
विग्रिएको सडक नबनाएको भन्दै धनगढीमा स्थानीय आन्दोलित भएका छन् । सडकमा खाल्डा भएर हिलाम्य भए पनि बनाउनमा कसैले चासो नदिएको भन्दै धनगढी उपमहानगरपालिका वडा नम्बर २ का स्थानीय आन्दोलित भएका हुन ।

सुदूरपश्चिम प्रदेशको हाल राजधानी समेत रहेको धनगढी उपमहानगरपालिका वडा नम्बर २ सरस्वती टोल स्थित गणेश मार्ग आसपासका स्थानीय विग्रिएको सडक बनाउन कसैले वास्ता नगरेको भन्दै सडक आवातजावत नै बन्द गरेका छन् ।

शनिवार स्थानीयहरुले सडकमा ढुङ्गा काठ राखेर आवतजावत समेत बन्द गरेका हुन । धनगढीको मुख्य सडकबाट नजिकै रहेको बस्ती जाने बाटो मर्मतका लागि स्थानीय, प्रदेश र संघ सरकार कसैले पनि वास्ता नगरेको उनीहरुको आरोप छ । स्थानीय भुपिन्द्र जोशीले भने, वडा कार्यालय हुँदै नगरपालिका, प्रदेश सरकार संग हरेक बर्ष बाटो मर्मतका लागि माग राख्यौ तर कसैले सम्बोधन गरेनन । बाध्य भएर सडक बन्द गर्नुपरेको हो ।’ उनले बर्षाै देखि सडकमा खाल्डा खुल्डी बनेर आवातजावतमा समस्याका साथै दुर्घटना समेत भईरहेका बताए ।

स्थानीयले मुख्य बजारबाट सबैभन्दा नजिकको बस्ती भएपनि यहाँको विकासमा कसैले ध्यान नदिने गरेको गुनासो गरेका छन । त्यस क्षेत्रको ५ सय मिटर भन्दा बढी सडक क्षेत्रमा खाल्डा खुल्डी बनेर हिडन समस्या भएको छ । यो सडक क्षेत्रमा एकदमै घना बस्ती रहेको छ । जतिसुकै आवाज उठाउँदा पनि सडक निर्माणमा चासो नदिएको स्थानीय मेनुका जोशीले बताईन । सडकमा खाल्डो भएर पानी जम्दा स्कूल जादा जुत्ता खुलेर जानु पर्ने बाध्यता रहेको उनले सुनाईन ।
































