
अमेरिकाले इरानमाथि आक्रमण सुरु गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सेनाले इरानका तीनवटा प्रमुख स्थानहरूमा हमला गरेको पुष्टि गरेका छन्।

राष्ट्रपति ट्रम्पले फोर्डो, नातान्ज र एस्फहानस्थित इरानी आणविक केन्द्रहरूमा आक्रमण गरिएको जनाउँदै यो कारबाही इजरायलको आणविक रोकथाम प्रयासमा अमेरिका प्रत्यक्ष रूपमा संलग्न भएको स्पष्ट पारे।
“हामीले इरानका तीनवटा आणविक केन्द्रमा सफल हमला गरेका छौँ,” ट्रम्पले भनेका छन्, “यो कदम विश्व शान्तिका निम्ति आवश्यक थियो।”


यो आक्रमणसँगै अमेरिकी–इरानी सम्बन्ध थप तनावपूर्ण बन्दै गएको देखिएको छ। इरानले तत्काल औपचारिक प्रतिक्रिया नदिएको भए पनि अन्तर्राष्ट्रिय समुदायले चासोका साथ घटनाक्रमको अवलोकन गरिरहेको छ।
यस घटनाले मध्यपूर्वमा फेरि एकपटक अस्थिरता बढ्न सक्ने अनुमान गरिएको छ। आणविक प्रतिष्ठानहरूमाथिको सीधा आक्रमणले सम्भावित प्रतिशोधको चिन्ता बढाएको विश्लेषकहरूले जनाएका छन्।































