
अत्तरियाः कृष्णपुर नगरपालिकाको १७औँ नगरसभा मंगलबार सम्पन्न भएको छ। नगर उपप्रमुख द्रोपती रानाले आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको जानकारी दिइन्।

नगरपालिकाले कृषकहरूको जीवनस्तर उकास्न बीउविजन वितरण, आधुनिक प्रविधिको प्रयोग, व्यवसायिक कृषि तथा पशुपालन, माछापालनमा आत्मनिर्भरता विकास गर्नेसम्मका योजनाहरू अघि सारेको छ। कृषकलाई सहुलियत दरमा मलबीउ, कृषि मिटर, उपकरण उपलब्ध गराउने र जैविक तथा प्राकृतिक कृषि प्रणाली प्रवर्द्धन गर्ने नीति समेटिएको छ।


भुस्याहा गाईगोरु व्यवस्थापन, गहुँ, मकै, धान, तोरी, तरकारी, फलफूल तथा बाख्रापालनलाई व्यवसायिक रूप दिने कार्यक्रम पनि समावेश छन्। महिला सशक्तिकरणका लागि महिला सहकारीमार्फत आयमूलक कृषि योजनाहरू सञ्चालन गरिनेछ।
वडास्तरीय कृषि तथा पशु सेवा केन्द्र स्थापना गरी तालिम, अनुदान, सिँचाइ, कृषि बीमा र बजार व्यवस्थापनमार्फत कृषकलाई आत्मनिर्भर बनाउने लक्ष्य लिइएको छ। महाकाली सिँचाइ आयोजना तेस्रो चरणको सहजीकरण, थोपा र सौर्य सिँचाइ प्रविधिमा लगानी बढाइने छ।


पूर्वाधारतर्फ नगरभित्रका सडक स्तरोन्नति, कालोपत्रे, ग्राभेल तथा ढलसहितका सडक निर्माण गरिनेछ। यातायात सहज बनाउन बस स्टप, पार्किङ, संकेत चिह्न, ट्राफिक चेकपोइन्ट र सीसीटीभी जडान गरिनेछ।
शहरी विकास योजनामा भवन निर्माण आचारसंहिता कार्यान्वयन, डिजिटल ठेगाना प्रणाली, हरित क्षेत्र, बाल उद्यान तथा स्मार्ट प्रविधिको प्रयोग प्राथमिकतामा राखिएको छ। अतिक्रमण नियन्त्रण, सुरक्षित बस्ती स्थानान्तरण र विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्यक्रमहरू पनि समेटिएका छन्।

बिजुली तथा वैकल्पिक ऊर्जा क्षेत्रतर्फ बायोग्यास, सौर्य बत्ती र फोहोरबाट ऊर्जा उत्पादनजस्ता कार्यक्रमलाई प्राथमिकता दिइएको छ। ‘उज्यालो मेयर’ कार्यक्रमलाई निरन्तरता दिइने नगरपालिकाले जनाएको छ।
सम्बन्धित समाचार




































