
गर्मी र वर्षातको समयमा मात्र देखिने डेङ्गु रोग सुदूरपश्चिम प्रदेशमा अब वर्षैभरि देखिन थालेको छ। जलवायु परिवर्तनका कारण लामखुट्टेको प्रजनन चक्र लम्बिएसँगै तापक्रममा असामान्य वृद्धि र अनियमित वर्षाले डेङ्गुको जोखिम बढाएको छ।

सुदूरपश्चिम प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रका सूचना अधिकारी हेमराज जोशीका अनुसार, वातावरणीय परिवर्तनले लामखुट्टेको रोग सार्ने क्षमता पनि बढाएको छ। उनका अनुसार, सन् २०२५ को जनवरीदेखि जुनसम्म सुदूरपश्चिमका १६७ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ।

उक्त अवधिमा डडेल्धुरामा ३४, कैलालीमा ३१, कञ्चनपुरमा २९, डोटीमा २५, अछाममा २४, बझाङ र बाजुरामा ११-११ र दार्चुलामा २ जनामा सङ्क्रमण देखिएको छ। बैतडीमा भने हालसम्म डेङ्गु देखिएको छैन।

स्वास्थ्यकर्मीहरूका अनुसार पानी जम्ने ठाउँ, प्लास्टिकजन्य फोहोर, र सरसफाइको कमीले लामखुट्टेको वृद्धि बढाउँदैछ। डेङ्गु नियन्त्रणका लागि घर वरिपरि पानी नजम्ने, झुल प्रयोग गर्ने, लामो कपडा लगाउने, र जनचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव दिइएको छ।
































