
पछिल्लो ३ घण्टाको अवधिमा कञ्चनपुर जिल्लाको खल्लागोठ र शान्तिपुर (बेलौरी) वर्षा मापन केन्द्रहरू तथा आसपासका क्षेत्रमा मध्यम वर्षा मापन गरिएको छ।

बाढी पूर्वानुमान महाशाखाले सोमबार बिहान ४:३० बजे सूचना जारी गर्दै सिहाली, दोदा (मछेली) लगायत साना खोलाहरूमा पानीको बहाव बढ्न सक्ने जनाउँदै तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ।

हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेकाले अधिकांश क्षेत्रमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ सरेर पश्चिम नेपाल नजिक रहेको छ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा अन्य प्रदेशका केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जानकारी दिएको छ।
































