
अत्तरिया : २३ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको अवसरमा कैलालीका तीनजना कृषकलाई सम्मान गरिएको छ।

धनगढी–४ का कुखुरा पालक किसान विवेक भट्ट, लम्कीचुवा–६ का मौरी पालक किसान किरण पाल भारती र धनगढी–१ की बाख्रा पालक कृषक देवकीकुमारी हमाललाई दोसल्ला, प्रमाणपत्र, कदर पत्रसहित नगद २५ हजार रुपैयाँ प्रदान गर्दै सम्मान गरिएको हो।

कृषिमा आत्मनिर्भरता र उत्पादनशीलता बढाउन उल्लेखनीय योगदान पु¥याएका यी कृषकहरूलाई कृषि ज्ञान केन्द्र कैलालीले आयोजना गरेको कार्यक्रममा सम्मान गरिएको हो। कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामेश्वर चौधरी प्रमुख अतिथिको रूपमा उपस्थित थिए ।

त्यस्तै, जिल्ला समन्वय समिति कैलालीकी प्रमुख टीका चौधरी, कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख टेकराज विष्ट, मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्याय लगायत स्थानीय किसानहरूको उपस्थिति थियो।

































