
सुनचाँदीमा लगाइएको २% विलासिता करको विरोधमा कैलाली र कञ्चनपुरका व्यवसायीले अत्तरियामा वर्षालाई वेवास्ता गर्दै प्रदर्शन गरेका छन्। अत्तरिया बजारमा र्यालीपछि चोकमा कोणसभा गरी सरकारलाई कर फिर्ता लिन चेतावनी दिइएको हो। व्यवसायीले सुनलाई नेपालजस्तो हिन्दु बहुल मुलुकमा आवश्यक वस्तु भन्दै यो कर अन्यायपूर्ण रहेको बताएका छन्।

कोण सभामा सुदूरपश्चिम प्रदेश अध्यक्ष सन्तोष लामीछानेले सुन हरेक धार्मिक तथा सामाजिक संस्कारसँग जोडिएको हुँदा विलासिता होइन, आवश्यक वस्तु भएको बताए। प्रवक्ता रुपक सुनारले यो करले उपभोक्ता, व्यवसायी र कालिगडको जीवनमा असर पर्ने उल्लेख गरे।

नेपाल सुनचाँदी व्यवसायी संघका केन्द्रीय सदस्य गणेश सुनारले सुनमा लागू गर्न खोजिएको १३% भ्याट खारेज हुनुपर्ने माग राखे। अर्का सदस्य जगत सुनार र कैलाली अध्यक्ष मनोज खनालले आवश्यक कर तिर्न तयार रहेको तर अन्यायपूर्ण कर व्यवस्था फिर्ता नभएसम्म आन्दोलन जारी रहने जनाए।

उनीहरूले सञ्चारमाध्यममा आन्दोलनको उचित प्रतिनिधित्व नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
































