सेती अस्पतालको ओपिडी सेवा बन्द, बिरामीहरू बिचल्लीमा

Image
Nisarga Hospital

सुदूरपश्चिम प्रदेशको एक मात्र ‘रेफरल’ अस्पताल सेती प्रादेशिक अस्पतालको बहिरंग (ओपिडी) सेवा बन्द भएपछि सर्वसाधारण बिरामीहरू बिचल्लीमा परेका छन्। चिकित्सकहरूको आन्दोलनका कारण दुई दिनदेखि ओपिडी सेवा अवरुद्ध बनेको हो।

CP Hospital Dhangadhi

सुदूरपश्चिमका नौवटै जिल्लाबाट बिरामीहरू उपचारका लागि सेती अस्पताल आउने गर्छन्। तर, ओपिडी बन्द भएपछि पहाडी जिल्लासहित टाढाटाढाबाट आएका बिरामी उपचार नपाएर फर्कन बाध्य भएका छन्।

“हिजो आएका थियौं, आज फेरि आए पनि चेकजाँच बन्द नै रहेछ,” डोटी सिलगढीकी वासुदेवी बिष्टको गुनासो छ। मुटु सम्बन्धी समस्या लिएर सेती आएकी बिष्ट शुक्रबारदेखि ओपिडी खुलेको प्रतीक्षा गर्दै छन्। “एमआरआई र अन्य जाँच रिपोर्ट आए पनि देखाउन पाइएन, खाली सास्ती मात्रै भोगियो,” उनले भनिन्।

nawajiwan

यस्तै, कैलाली हसुलियाबाट आएकी प्रतिमा कठरियाले पनि ओपिडी बन्दका कारण आफ्नो छ वर्षीय छोराको उपचार गराउन नसकेको बताइन्। “घामघाममा एक घण्टा यात्रा गरेर आइयो, तर ओपिडी बन्द रहेछ। डाक्टरले दिएको औषधि सकियो, अब के गर्ने अन्योल छ,” उनले भनिन्।

Attariya Hospital

सेती प्रादेशिक अस्पतालको ओपिडी सामान्यतया दैनिक एक हजारदेखि एक हजार दुई सयसम्म बिरामीले प्रयोग गर्ने गर्छन्। तर सोमबार अस्पताल परिसर प्रायः सुनसान देखिन्थ्यो। सूचना अधिकारी किशोरकुमार श्रेष्ठका अनुसार ओपिडीबाहेक अन्य सबै सेवा भने सञ्चालनमा छन्।

चिकित्सकहरू उपभोक्ता अदालतको एक फैसलाको विरोधमा देशभरका अस्पतालमा ओपिडी सेवा बन्द गरेर आन्दोलनमा उत्रिएका हुन्। फैसलाले उपचारमा लापरबाही भएको ठहर गर्दै चिकित्सकलाई दोषी ठहर गरेपछि चिकित्सक संघ र सम्बन्धित पक्ष आन्दोलित भएका छन्।

अस्पताल सेवा पुनः सञ्चालन कहिले हुने भन्ने विषयमा भने अझै अन्योल कायम छ।