
धनगढीः धनगढी उपमहानगरपालिका–३ चटकपुरमा रहेको गौ संरक्षण सेवा समितिले गड्यौला मल, गोठेमल तथा शुद्ध दूध उत्पादन र बिक्री गर्दै नियमित आम्दानी गर्दै आएको छ।

२०७४ सालमा एक छाडा गाईबाट सुरु गरिएको गौशालामा हाल १४३ गाईको संरक्षण तथा पालन भइरहेको छ। गौशालाका व्यवस्थापक रीता अवस्थीका अनुसार गाईको मलमुत्र संकलन गरी गड्यौला मल र गोठेमल उत्पादन गरिन्छ। गड्यौला मल प्रतिकिलो ४० रुपैयाँ र गोठेमल प्रति ट्रली ४ हजार रुपैयाँमा बिक्री हुँदै आएको छ। केही कृषकले पराल, भूसा आदानप्रदान गरेर पनि मल लिने गरेको अवस्थी बताउँछिन्।
गौशालाले दैनिक ३२ लिटर शुद्ध दूध उत्पादन गर्दै आएको छ, जुन प्रतिलिटर ९० रुपैयाँमा बिक्री गरिन्छ। यसबाट मासिक करिब ८६ हजार रुपैयाँ आम्दानी हुँदै आएको छ। दूध स्थानीय ग्राहकलाई नजिकै बिक्री गरिन्छ भने टाढाका ग्राहकलाई कर्मचारीमार्फत पुर्याइने गरिएको छ।

गौदानमार्फत पनि आम्दानी भइरहेको छ। पूजा, कन्यादान जस्ता धार्मिक प्रयोजनका लागि बाच्छा चाहिनेहरूलाई सशर्त रुपमा बाच्छा एक हजार एक सयमा र गाईसहित बाच्छाको सेट तीन हजार एक सय रुपैयाँमा उपलब्ध गराइने गरिएको छ।

धनगढी उपमहानगरपालिका र भेटेरिनरी कार्यालयबाट कहिलेकाहीं आवश्यक सहयोग प्राप्त हुने भए पनि अन्य सरकारी निकायबाट सहयोग नभएको अवस्थीको गुनासो छ। उनले भनेकी छन्, “यो शुद्ध परोपकारी कार्य हो। छाडा गाईको संरक्षण तथा व्यवस्थापन गर्न हामीले यो गौशाला स्थापना गरेका हौँ।”
गौशालामा पाँच जना कर्मचारी कार्यरत छन्, जसमा चार जनालाई १२ हजार र एक जनालाई १० हजार तलब दिइन्छ। आम्दानी मासिक करिब पौने दुई लाख रहे पनि खर्च साढे तीन लाख रुपैयाँसम्म हुने अवस्थीको भनाइ छ।
स्थानीय बासिन्दा, जन्मदिन तथा अन्य शुभ अवसरमा स्वस्फूर्त सहयोग गर्ने चलन बढ्दै गएको छ। गौशालाका अनुसार छाडा चौपायाका कारण सडक दुर्घटना, कृषि क्षति जस्ता समस्याबाट जोगिनसमेत यसको आवश्यकतामा जोड दिइएको छ।





























