
लागुऔषध ट्रामाडोलसहित दुईजना युवालाई प्रहरीले कैलालीबाट पक्राउ गरेको छ।

विशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको संयुक्त प्रहरी टोलीले गोदावरी नगरपालिका–२, तेघरीबाट उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा गोदावरी नगरपालिका–२, तेघरीका ३५ वर्षीय तपेश खड्का र धनगढी उपमहानगरपालिका–५ का २६ वर्षीय दिक्पाल स्वार रहेका छन्। उनीहरूलाई तेघरीस्थित सडकमा हिँडिरहेको अवस्थामा शंका लागि जाँच गर्दा खड्काको साथबाट ३१० वटा र स्वारको साथबाट ५० वटा ट्रामाडोल क्याप्सुल फेला परेको प्रहरीले जनाएको छ।


दुबैको साथबाट जम्मा ३६० वटा ट्रामाडोल क्याप्सुल (३६ पत्ता) बरामद गरिएको छ। पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय मालाखेतीमा राखिएको प्रहरीले जनाएको छ।
घटनाबारे जानकारी दिँदै इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक (डीएसपी) रण बहादुर चन्दले लागुऔषध ओसारपसारमा संलग्न रहेका व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको बताए।































