
कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ निगालीकी २८ वर्षीया कमला आउजी छाउगोठमै सुत्दा सर्पको डसाइबाट ज्यान गुमाउनुपरेको छ। वैदेशिक रोजगारीबाट फर्किएर छोराहरूको उज्ज्वल भविष्यका लागि संघर्षरत कमलाको मृत्युले समाजलाई फेरि एकपटक झस्काएको छ।

भारतमा मजदुरी गरेर फर्किएकी कमला आउजीले हालै बनाएको पक्की घरमा पानी चुहिने भयले घरनजिकैको छिमेकीको छाउगोठमा सुत्न गएकी थिइन्। शुक्रबार राति सुतिरहेको बेला करेत सर्पले डसेपछि छरछिमेकको सहयोगमा उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको थियो। तर, समयमै उपचार नपाउँदा शनिबार साँझ उनको ज्यान गयो।
तीन साना छोराहरू टुहुरा बनेका छन्। महिलामाथिको धार्मिक र सांस्कृतिक कुप्रथाले फेरि एउटा ज्यान लिएको छ।


छाउपडी प्रथा विरुद्धका कानुन र अभियानहरू कागजमा मात्र सीमित छन्। मृतक कमलाको जीवन बलिदान बनेर समाजको परिवर्तनका लागि चेतावनी बनेको छ।
अब कानुनको कार्यान्वयन र व्यवहारिक परिवर्तनबिना यस्तो पीडा दोहोरिरहनेछ।































