
रमेश बहादुर सिंह/बझाङः थलारा गाउँपालिका–६ पिंखेत घर भएका रोकाया परिवार ले छोरी को”जन्मदिनलाई केवल उत्सवको रुपमा होइन, सेवा र समर्पणको अवसरको रुपमा मनाऔं” भन्ने सन्देश दिँदै महेश बहादुर रोकाया र अमला देवी रोकायाले आफ्नी छोरी आश्रीया रोकायाको छैटौं जन्मदिनको अवसरमा एक अनुपम उदाहरण प्रस्तुत गरेका छन्।

उनीहरूले छोरीको जन्मदिनको अवसरमा धनगढीमा रहेको बालमन्दिर बालगृहमा आश्रित २३ जना अनाथ बालबालिकालाई खाद्यान्न, कुर्सी फलफूल, नुन साबुन लगायतका सामग्री सहयोग गरेका छन्।

बालबालिकाको अनुहारमा मुस्कान देख्दा आफूहरू साँचो खुसी अनुभूत गरेको बताउँदै बुबा महेश रोकाया भन्छन्,

“हाम्रो छोरी आश्रीया सानै छ, तर उसले पनि मानवता र माया सिक्दै जाओस् भन्ने चाहना राखेका छौं। जन्मदिनमा लाखौं खर्च गरेर भोज गर्नुको सट्टा यस्तो सानो तर सन्देशमूलक सहयोग गर्न सके धेरै अर्थपूर्ण हुन्छ।”
सहयोगस्वरूप बालबालिकालाई दुई बोरा चामल पन्ध्र वटा कुर्सी फलफूल नुन साबुन तेल सामग्री वितरण गरिएको थियो।
बालमन्दिरका अध्यक्ष चुडामणि भट्ट ले भने “हाम्रो संस्थामा आएको यस्तो सहयोगले बालबालिकामा खुसी मात्र होइन, आत्मीयता पनि थपिएको छ। समाजमा यस्तो भावना फैलियो भने सयौं बालबालिकाको भविष्य उज्यालो बन्न सक्छ।”
छोरीको जन्मदिनमा अनाथ बालबालिकासँग बिताएको समयलाई रोकाया परिवारले जीवनकै अविस्मरणीय पलको रूपमा वर्णन गरेका छन्। उनीहरूले आगामी दिनहरूमा पनि यस्ता सामाजिक कार्यहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
रोकाया दम्पतीको यो कार्यले समाजमा जन्मदिन मनाउने परम्परामा नयाँ सोच र दृष्टिकोण थपेको छ। सेवाभाव, करुणा र मानवताको सन्देश दिने यस्ता कार्यहरू अनुकरणीय बन्नेछन् भन्नेमा दुईमत छैन।

































