
बाजुराको बडीमालिका नगरपालिका–८ र ६ को सीमामा पर्ने ‘वीरेखोला झरना’ साउन १ गतेको विशेष अवसरमा देउडा संस्कृतिका रंगमा रंगिएको छ। बडीमालिका सामुदायिक विकास समाजको आयोजनामा आयोजित लाइभ देउडा कार्यक्रममा हजारौं दर्शक सहभागी भएका थिए।

साउन १ लाई स्थानीयले आफन्तसँग भेटघाट, पर्व मनाउने र लेकबेंसी बसाइको तयारी गर्ने विशेष दिनका रूपमा लिने गर्छन्। यही दिनलाई सदुपयोग गर्दै नगरपालिकाले आन्तरिक पर्यटन प्रवर्द्धनका लागि कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा स्थानीय संस्कृति झल्काउने देउडा गीतले माहोल भावुक बनाएको थियो।
प्रमुख जिल्ला अधिकारी मेघराज पाध्याय, जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकाया, नगर उपप्रमुख नन्दा कुमारी थापा लगायत जनप्रतिनिधि तथा सरकारी कर्मचारीको उपस्थिति रहेको थियो।


झरनाको आकर्षण, स्वच्छता र चिसो पानीले यहाँ गर्मी छल्ने, फोटो खिच्ने, टिकटक बनाउनेदेखि रमाइलो गर्ने सबैलाई लोभ्याउने गरेको छ। बडीमालिका नगरपालिकाले झरनाको पहुँच मार्ग, पुल, रेलिङ र विश्रामस्थल निर्माण गरी अझ सहज बनाएको छ।
करिब १०० मिटर उचाइबाट झर्ने झरनाले इन्द्रेणी देखिने दृश्यसहित पर्यटकलाई मोहित बनाउने गरेको छ। यो झरनाले सामाजिक सञ्जालमा पनि व्यापक चर्चा बटुल्दै आएको छ।
नगरपालिकाले यसलाई प्रमुख पर्यटन गन्तव्यको सूचीमा राखेको छ र यसले स्थानीय संस्कृति, पर्यटन तथा अर्थतन्त्रमा योगदान पुर्याउने विश्वास लिइएको छ।
































