
धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले मुक्त कमैया, हलिया र कमलरी समुदायको जीवनस्तर उकास्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्।

शुक्रबार धनगढीमा आयोजित २५ औँ कमैया मुक्ति दिवसको अवसरमा बोल्दै उनले यी समुदायका लागि आयआर्जन र जीविकोपार्जनमा सहयोग पुर्याउने उद्देश्यले कार्यविधि तयार गरिएको जानकारी दिए। “अब केवल मुक्ति घोषणा गरेर मात्र हुँदैन, जीवनस्तरमा परिवर्तन ल्याउन प्रदेश सरकारले काम गरिरहेको छ,” उनले भने।


मुख्यमन्त्री शाहले २०५७ सालको श्रावण २ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा कमैया मुक्तिको ऐतिहासिक घोषणा गरिएको स्मरण गराउँदै, त्यसको सामाजिक तथा आर्थिक रूपान्तरण अझै पूरा हुन नसकेको उल्लेख गरे।
“हक, अधिकार र पहिचान सुनिश्चित गर्न शासकहरूसँग लड्दै आएको इतिहास छ,” उनले थपे, “अब त्यही आन्दोलनको फलस्वरूप थारु समुदायको बडघर र भलमन्सा प्रथालाई कानुनी मान्यता दिने विधेयक मन्त्रिपरिषदबाट पास गरी प्रदेशसभामा पेश गरिसकेका छौँ।”
उनका अनुसार, मुक्त कमैया, कमलरी र हलियाका लागि पहिचान पुनःस्थापनादेखि पुनःस्थापना कार्यान्वयनसम्मका योजनाहरू अघि बढाइएको छ।

































