
छाउपडी प्रथा तथा यसबाट उत्पन्न सामाजिक कुरीतिहरूको अन्त्य गर्न तयार पारिएको छाउपडी प्रथाजन्य कुरीति उन्मूलन नीति २०७६ अन्तर्गत सुदूरपश्चिम प्रदेशमा प्रदेश सुपरिवेक्षण तथा निर्देशन समितिको बैठक सम्पन्न भएको छ।

शनिबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न उक्त बैठक प्रदेशका मुख्यमन्त्री तथा समितिका संयोजक कमल बहादुर शाहको अध्यक्षतामा बसेको हो।
बैठकले पछिल्लो समय कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ निगालीमा छाउगोठमा सुत्दा सर्पदंशबाट एक महिलाको मृत्यु भएको घटनालाई गम्भीरतापूर्वक लिँदै केही महत्वपूर्ण निर्णयहरू गरेको छ।

बैठकका मुख्य निर्णयहरू:

१. छाउगोठ उन्मूलन र सामाजिक विभेद तथा छुवाछुत विरुद्ध प्रभावकारी ढंगले अभियान सञ्चालन गर्न सबै स्थानीय तह तथा जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिने।
२. छाउपडी उन्मूलन नीति तथा कार्ययोजनाको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न प्रदेश, जिल्ला र स्थानीय तहस्तरका समितिहरूले नियमित बैठक र अनुगमनलाई निरन्तरता दिने।
३. सामाजिक विकास मन्त्रालयमार्फत विद्यालय, समुदाय तथा धार्मिक संघ–संस्थालाई लक्षित गरी प्रदेशस्तरीय वार्षिक कार्ययोजना तयार पार्ने र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने।
बैठकमा सामाजिक कुरीतिहरू अन्त्य गर्न सामूहिक प्रयास आवश्यक रहेकोमा जोड दिइएको थियो।






























