
सुदूरपश्चिम प्रदेशका सात पहाडी र दुई तराईका जिल्ला जोड्ने एक मात्र प्रमुख भौगोलिक जीवनरेखा भिमदत्त राजमार्गको अवस्था अहिले अत्यन्तै दयनीय बनेको छ। मर्मतका लागि ठेक्का सम्झौता भए पनि काम अधुरै रहँदा डडेल्धुरादेखि कैलालीसम्मको झन्डै २० किलोमिटर सडकखण्ड सर्वसाधारणका लागि सास्तीको यात्रा बनेको छ।

डडेल्धुराको मेलखर्क–साहुँखर्क, हगुल्टे लेक र कैलालीको बुढीतोला क्षेत्रमा सडक खनेर छाडिएको छ। बर्खाको समय भएकोले ती ठाउँहरूमा ठूलो मात्रामा खाल्डा परेको र सडक हिलाम्मे बनेको छ। यसले गर्दा साना सवारीसाधन सञ्चालनमा निकै कठिनाइ भएको छ।
हाईस चालक हरि साउदले बताएअनुसार, “खाल्डा, खुल्टी र हिलोका कारण यात्रा दुई घण्टासम्म ढिलो हुन्छ, गाडीको इञ्जिनको भाग ठोक्किन्छ, बिग्रन्छ र खर्च थपिन्छ।” अर्का चालक करन दियालले भने, “बर्खामा यहाँबाट गाडी चलाउनु भनेको सिधै जोखिम मोल्नु हो।”


निर्माण कम्पनीले ग्रावेल समेत नहाल्दा सडक हिलोले ढाकिएको छ। पानी जमेर खाल्डाखुल्टी अझ गहिरिएका छन्। सवारी साधन फस्ने, बिग्रने र यात्रुहरू अलपत्र पर्ने समस्या दैनिक बनेको छ।
सडक डिभिजन कार्यालय, कुलपाते डोटीका प्रमुख रमेश भट्टराईका अनुसार उक्त सडक खण्ड दुईपटक टेण्डर गरिएको हो तर निर्माण कम्पनीले समयमै काम सम्पन्न गर्न नसक्दा समस्या भएको हो। चैत महिनादेखि नै लगातार वर्षा हुँदा निर्माण कार्य अघि बढ्न सकेको छैन। करिब दुई हजार मिटर उचाइमा पर्ने यो क्षेत्र चैतअघिसम्म हिउँले ढाकिने भएकाले काम गर्न समेत अप्ठ्यारो भएको उनले बताए।
तर स्थानीयबासी र सवारी चालकहरूले भने तत्कालीन समाधानका लागि ग्रावेल हालेर सडकलाई सञ्चालन योग्य बनाउन माग गरेका छन्। मर्मतसम्भारमा भएको लापरबाही र ढिलासुस्तीले जनतामा आक्रोश बढ्दो छ।































