
सुदूरपश्चिम प्रदेशका स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीहरूले आइतबारदेखि सुरु गर्ने भनिएको आन्दोलन फिर्ता लिएका छन्। स्थानीय तह स्वतन्त्र स्वास्थ्यकर्मी संघर्ष समितिले प्रदेश सरकारले स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन २०८१ संशोधन गर्न सहमति जनाएपछि आन्दोलनका कार्यक्रम स्थगित गरिएको जनाएको छ।

संघर्ष समितिका संयोजक राजेन्द्रसिंह साउँदका अनुसार समिति र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबीच दुई बुँदे सहमति भएको छ। सहमतिअनुसार कर्मचारीबीच न्यायोचित वृत्ति विकास सुनिश्चित गर्न संशोधन मस्यौदा तयार गरिनेछ, साथै स्वास्थ्यकर्मीहरूले नियमित सेवा सुचारु गर्नेछन्।

यसअघि ऐनमा समावेश ‘एकपटकका लागि एक तह वृद्धि’ प्रावधानको विरोधमा स्वास्थ्यकर्मीहरू आन्दोलनमा उत्रिएका थिए। सहमतिपछि संयोजक साउँद र प्रदेश सचिव यज्ञ पुरीले सहमतिपत्रमा हस्ताक्षर गरेका छन्। अहिले सबै स्वास्थ्य सेवा पुनः सञ्चालनमा आएको छ।






























