
कैलालीको कैलारी गाउँपालिका–३ मोहनपुर र वडा नं. ४ भितरिया जोड्ने झोलुङ्गे पुल निर्माणपछि स्थानीय बासिन्दा खुशी भएका छन्। वर्षायाममा मोहना नदी पार गर्न समस्या हुनेगर्दा स्कुल जाने बालबालिकादेखि दैनिक उपभोग्य सामान किन्न जानेलाई समेत सास्ती हुने गरेको थियो।


स्थानीय कृण्णकुमार थारुका अनुसार पुल नहुँदा ९६ घरधुरी रहेको मोहनपुरका बासिन्दा डुङ्गाको भरमा जोखिम मोलेर नदी पार गर्ने गर्थे। पुल निर्माणपछि बालबालिका सजिलै विद्यालय जान पाएका छन् भने जनजीवन सहज बनेको छ।
संघीय सरकारअन्तर्गत शहरी विकास मन्त्रालयको सस्पेन्सन बृज डिभिजनबाट तीन करोड ४३ लाख रुपैयाँको लागतमा पुल निर्माण गरिएको हो। एमपी ठेगिम सनलाइट जेभी नेपालगञ्जसँग २०७८ असोज १३ मा सम्झौता भएको उक्त पुल २०८१ माघ १० मा सम्पन्न भएको थियो। स्थानीय भवराम चौधरी भन्छन्, “अब त ढुक्कले आउजाउ गर्न पाइने भयो, यो पुल हाम्रो सबैभन्दा ठूलो राहत हो।”
































