
कञ्चनपुरको लालझाँडी गाउँपालिका–४ सिगलपट्टीका ४९ वर्षीय रामरेशर रानाको हत्या श्रीमतीसहित तीन जनाको मिलेमतोमा गरिएको खुलेको छ। वैशाख १७ गते बिहान मोटरघाट सडक छेउमा मृत फेला परेका रानाको हत्या पूर्वरचना अनुसार भएको अनुसन्धानबाट पुष्टि भएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार मृतककी श्रीमती माया चौधरी, परपुरुष पुन्ना राना (ट्याक्टर चालक) र छिमेकी मानमती चौधरी मिलेर वैशाख १६ गते राति १२ बजे बाँसको चिर्पट प्रहार गरी रानाको हत्या गरेका हुन्। घटनालगत्तै तीनै जनाविरुद्ध किटानी जाहेरी दर्ता भएपछि प्रहरीले असार ५ गते उनीहरूलाई पक्राउ गरेको थियो।

अनुसन्धानका क्रममा माया चौधरीले पुन्नासँग प्रेम सम्बन्ध रहेको र घरमा श्रीमान् पुगेपछि विवाद भई तीनै जनाले मिलेर हत्या गरेको स्वीकार गरेकी छन्। हत्या पश्चात शवलाई सडक छेउमा फालेको प्रहरी अनुसन्धानले देखाएको छ।

प्रहरीका अनुसार राना रोजगारीको लागि भारतमा बस्दै आएका थिए र दुई साताअघि मात्र घर फर्किएका थिए। असार २० गते अभियोगसहित सरकारी वकिल कार्यालयमा मुद्दा पेश गरिएको र असार २६ गते जिल्ला अदालतले पुन्नालाई पुर्पक्षका लागि कारागार चलान गरेको छ। धरौटी रकम नबुझाउन सकेपछि माया र मानमती पनि थुनामा पठाइएका छन्। मृतकका एक छोरा र दुई छोरी छन्।
































