गोदावरीमा असारमै बनेको कालोपत्रे सडक उप्कियो, ४ सय मिटरमा खाल्डाखुल्डी

Image
Nisarga Hospital

अत्तरियाः पूर्वपश्चिम राजमार्गअन्तर्गत कैलालीको गोदावरी नगरपालिका क्षेत्रमा गत असारमा कालोपत्रे गरिएको सडक केही महिनामै उप्किएको छ। गोदावरी–६ लालपुर र वडा–८ स्याउले क्षेत्रमा बनेको करिब ४ सय मिटर सडकमा ठूलो क्षति भएको हो।

CP Hospital Dhangadhi

सडक उप्किएपछि विभिन्न स्थानमा खाल्डाखुल्डी बनेका छन्। सडक डिभिजन कार्यालय महेन्द्रनगरका प्रमुख राजेश कुमार यादवका अनुसार क्षति भएको भाग मर्मत गर्न ठेकेदारलाई निर्देशन दिइसकिएको छ। “ठेक्काको सम्पूर्ण भुक्तानी भइसकेको छैन, मर्मत सम्पन्न भएपछि मात्र बाँकी भुक्तानी गरिनेछ,” यादवले बताए।

Attariya Hospital

उनका अनुसार वर्षायाममा कालोपत्रे गर्दा सडकलाई सुक्न पर्याप्त समय नपाउँदा डिफेक्ट (त्रुटि) देखिने समस्या धेरैजसो क्षेत्रमा देखिने गरेको छ। “यस्ता त्रुटि देखिएमा सोही ठेकेदारले नै मर्मत गर्नुपर्छ,” यादवले स्पष्ट पारे।

nawajiwan

गत असारमा अत्तरियादेखि स्याउलेसम्म तीन स्थानमा कालोपत्रे गरिएको थियो। अत्तरियादेखि पहलमानपुरसम्म पूर्ण क्षति भएका खण्डमा पुनः कालोपत्रे गर्न सडक डिभिजन कार्यालयले ठेक्का लगाएको थियो।

सडक डिभिजनका इन्जिनियर चित्र चौलागाईका अनुसार अत्तरियादेखि पहलमानपुरसम्म करिब २,३०० मिटर कालोपत्रे गर्ने जिम्मा जोशी श्रीपुर जेभीलाई गत मंसिरमा दिइएको थियो। मूल्य अभिवृद्धि करसहित ठेक्काको मूल्य २ करोड ८४ लाख रुपैयाँ रहेको थियो। असार मसान्तसम्म काम सक्ने सम्झौता भए पनि कार्य समयमै सम्पन्न नभएको डिभिजनले जनाएको छ।