
बैतडी: पुर्चौंडी नगरपालिकाले विजयपुर स्वास्थ्यचौकीमा कार्यरत अनमी भागरथी कुँवरको असमायिक निधन भएपछि मंगलबार शोक बिदा दिएको छ।

नगरपालिकाले जारी गरेको शोक वक्तव्यमा कुँवरको निधनले एक इमान्दार, कर्तव्यनिष्ठ र होनहार स्वास्थ्यकर्मी गुमाएको उल्लेख गरिएको छ। कार्यवाहक नगर प्रमुख मीना धानुक र निमित्त प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार कुँवरको हस्ताक्षरसहित जारी वक्तव्यअनुसार नगरपालिका मातहतका सबै वडा कार्यालय, शिक्षण संस्था र स्वास्थ्य संस्थामा शोक बिदा रहने जनाइएको छ।
२४ वर्षीया अनमी भागरथी कुँवर आइतबार राति आफ्नै कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन्। उनका शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा राखिएको छ। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयका अनुसार आत्महत्या गर्नुको कारण खुलिनसकेको छ र घटनामा थप अनुसन्धान भइरहेको छ।


गत वैशाखमा मात्र विवाहबन्धनमा बाँधिएकी कुँवरका श्रीमान् नेपाली सेनाको स्वास्थ्य प्राविधिक क्षेत्रमा कार्यरत रहेका छन्।
यसैबीच, पुर्चौंडी बहुमुखी क्याम्पसले पनि मंगलबार क्याम्पसमा शोक बिदा दिएको छ। क्याम्पसले जारी गरेको शोक वक्तव्यमा स्नातक तह चौथो वर्षमा अध्ययनरत छात्रा भागरथी कुँवरको निधनले क्याम्पस परिवारलाई गहिरो शोकमा पारेको उल्लेख गरिएको छ।
































