
अत्तरिया : सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला राज्यमन्त्री प्रकाश बहादुर बमले सृजनशील सहकारी संस्थाले कृषि उपज संकलन केन्द्र सञ्चालनसँगै करिब १२ कठ्ठा जग्गा खरिद गरी आफ्नै जग्गामा भवन निर्माण सम्पन्न गरेको उल्लेखनीय उपलब्धिको प्रशंसा गरेका छन् ।


गोदावरी नगरपालिका वडा नं ६ लालपुरमा आफ्नै नवनिर्मित भवनमा सृजनशिल महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाले आयोजना गरेको कृषि उपज संकलन केन्द्र उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि अर्थ राज्यमन्त्री बमले विगतमा प्रचलित साहु–महाजन प्रथा र चर्को ब्याज प्रणालीको अन्त्यमा सहकारी संस्थाले महत्वपूर्ण भूमिका खेलेको बताए । सहकारीमार्फत सदस्यहरूले सहज रूपमा ऋण प्राप्त गर्दै जीवनस्तरमा सुधार ल्याउनुका साथै आत्मनिर्भर बन्ने अवसर पाएको भन्दै उनले सहकारी क्षेत्रको योगदानलाई उच्च मूल्याङ्कन गरेका छन् ।
मन्त्री बमले ऋण लिँदा सदस्यहरूले इमानदारी देखाई तोकिएको समयमा ब्याज चुक्ता गर्नुपर्नेमा जोड दिँदै, “नियम अनुसार सञ्चालन भए सहकारी संस्थाले सफलताको उचाइ हासिल गर्न सक्छ ।,” उनले सहकारी संस्थाहरूले उत्पादनमूलक, व्यवसायिक तथा शिपमूलक कार्यमा सक्रिय भई आम्दानी सिर्जना गर्ने हो भने दीगो सफलता प्राप्त हुने विश्वास व्यक्त गरे ।
त्यस्तै सृजनशिल सहकारी जस्ता सेवामुखी सहकारी संस्थाको हित र माग पूरा गर्न सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरे ।
































