
गृह मन्त्रालयले सदरमुकाममा मात्रै सेवाग्राहीलाई निर्भर रहनुपर्ने सास्ती अन्त्य गर्न सुदूरपश्चिम प्रदेशमा छ वटा नयाँ इलाका प्रशासन कार्यालय खोल्ने तयारी गरेको छ। दरबन्दी नबढाई विद्यमान स्रोत प्रयोग गर्ने योजनासहित देशभर २३ वटा नयाँ इलाका प्रशासन कार्यालय खोलिने प्रस्तावमा सुदूरपश्चिममा मात्रै ६ वटा पर्न गएको हो।

मन्त्रालयको प्रस्ताव अनुसार बाजुरामा कोल्टी, बझाङमा देउरा, अछाममा साँफेबगर, डोटीमा विपिनगर, दार्चुलामा गोकुलेश्वर र बैतडीमा मेलौलीमा इलाका प्रशासन कार्यालय थपिनेछन्।
ग्रामीण भेगका नागरिकलाई प्रशासनिक सेवा सहज र प्रभावकारी बनाउन मन्त्रीपरिषद्मा पेश गरिएको प्रस्ताव संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदनको आधारमा तयार गरिएको हो। सोमबार बसेको मन्त्रीपरिषद्ले उक्त प्रस्ताव स्वीकृत गर्दै गृह मन्त्रालयलाई मन्त्रीपरिषद्को प्रशासन समितिमा पठाएको छ।


गृह मन्त्रालयका अनुसार दरबन्दी वृद्धि नगरी विद्यमान स्रोतको अधिकतम प्रयोग, स्थानगत आवश्यकता र स्थानीय तहसँगको समन्वयमार्फत सेवा प्रवाहलाई प्रभावकारी बनाउन यी कार्यालय खोलिनेछन्। नागरिकता, राहदानी, राष्ट्रिय परिचय पत्र, विपद् व्यवस्थापन, सार्वजनिक सुरक्षा लगायतका सेवा स्थानीय तहसम्म पुर्याउन इलाका प्रशासन कार्यालयको भूमिका अपरिहार्य हुने मन्त्रालयको भनाइ छ।
































