
कैलालीको अत्तरियामा जन्मदिन मनाउन गएका चार किशोरको खुटिया खोलामा डुबेर मृत्यु भएको छ। गोदावरी नगरपालिका–९, सहरी झोलुंगे पुलनजिक बिहीबार दिउँसो नुहाउने क्रममा उनीहरूको मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी रणबहादुर चन्दका अनुसार मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–४ का १७ वर्षीय सक्षम जोशी, १६ वर्षीय जेव भण्डारी, १७ वर्षीय जाबेज भण्डारी र १५ वर्षीय प्रतीक चौधरी रहेका छन्।
डीएसपी चन्दका भनाइअनुसार किशोरहरूको समूह जन्मदिन मनाउन गएका थिए। खोलामा नुहाउने क्रममा उनीहरू हात समातेर तर्न खोज्दा ४ जना खोलाको गहिरो भागमा फसेका थिए। हात छुटेपछि अन्य तीन जना सकुशल बाहिर निस्कन सफल भए तर चारै जना डुबेर बेपत्ता भए। स्थानीयवासी, नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रूपमा खोजी गर्दा दिउँसो साढे १२ बजे हराएका उनीहरूको शव अपराह्न साढे ४ बजे फेला परेको थियो।


साथीहरूमध्ये १७ वर्षीय नवीन डडाल, १७ वर्षीय युवराज कुवर र १७ वर्षीय आकाश मल्ल भने सकुशल रहेका छन्। मृतकहरूमध्ये तीन जना वाल्मीकि इन्टरनेसनल स्कुल र एक जना ग्यालेक्सी स्कुलमा कक्षा ११ मा अध्ययनरत रहेको प्रहरीले जनाएको छ।
यो घटनापछि स्थानीयवासी शोकमा डुबेका छन्। मृतक चारै किशोरको शव पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको र परीक्षणपछि परिवारको जिम्मा लगाइने प्रहरीले जनाएको छ।
































