सुदूरपश्चिम सरकार निजी क्षेत्रको लगानीमैत्री वातावरण बनाउन तत्पर : मुख्यमन्त्री शाह

Image
Nisarga Hospital

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले प्रदेश सरकारले निजी क्षेत्रको लगानीलाई स्वागत गर्न आतुर रहेको बताएका छन्। सुदूरपश्चिम लगानी तथा विकास सम्मेलनको पूर्वसन्ध्यामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सुदूरपश्चिम सरकारको संयुक्त आयोजना तथा नेपाल पर्यटन बोर्डको सहकार्यमा शुक्रबार काठमाडौंमा आयोजित पर्यटनसम्बन्धी अन्तरक्रियामा उनले यस्तो बताएका हुन्।

CP Hospital Dhangadhi

मुख्यमन्त्री शाहले सुदूरपश्चिमलाई ‘भर्जिन ल्याण्ड’ को रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन चाहेको उल्लेख गर्दै स्वदेशी तथा विदेशी निजी क्षेत्रलाई लगानी गर्न आह्वान गरे। उनले प्रदेश सरकारले कानुनी सुरक्षासहित लगानीमैत्री वातावरण बनाउन प्रतिबद्ध रहेको स्पष्ट पारे।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले पनि सुदूरपश्चिमको पर्यटन पूर्वाधारमा लगानी गर्न निजी क्षेत्रलाई आह्वान गरे। उनले भने, “सुदूरपश्चिम नेचर, कल्चर र एड्भेन्चरको अद्वितीय संयोजन भएको प्रदेश हो। यस क्षेत्रमा थुप्रै पर्यटकीय सम्भावनाहरू रहेकोले लगानीकर्ताले गम्भीरतापूर्वक विचार गर्नुपर्नेछ।”

nawajiwan

मन्त्री पाण्डेले लगानीमैत्री नीति निर्माण, कानुनी अवरोध समाधान र निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण बनाउन सरकार गम्भीर रहेको बताए। यसका लागि चालु आर्थिक वर्षमै सुदूरपश्चिममा नेपाल पर्यटन बोर्डको कार्यालय स्थापना गर्न बजेट विनियोजन गरिएको जानकारी पनि दिए।

Attariya Hospital

सुदूरपश्चिम लगानी सम्मेलन आगामी मंसिर १ र २ गते धनगढीमा हुने भएको छ। सम्मेलनको तयारीका क्रममा शुक्रबार भएको कार्यक्रममा प्रदेश सरकारले पर्यटकीय सम्भावना र लगानीको वातावरणबारे प्रस्तुतीकरण गरेको थियो।

अन्तर्क्रिया कार्यक्रममा नेपाल होटल व्यवसायी संघका अध्यक्ष विनायक शाह, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, नाटाका सीईओ युविका राज भण्डारी, उद्योगी–व्यवसायी, पर्यटन सरोकारवाला संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता थियो। उनीहरूले सरकारलाई लगानीमैत्री नीति र लगानीको प्राथमिकता पहिचान गर्न सुझाव दिएका छन्।

हालै सरकारले सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाल आरोहण दुई वर्षका लागि निःशुल्क गर्ने निर्णय गरेको छ। साथै, धनगढी विमानस्थलको स्तरोन्नति र कञ्चनपुर विमानस्थल निर्माण अन्तिम चरणमा पुगेको जानकारी पनि कार्यक्रममा साझा गरिएको थियो। धार्मिक, सांस्कृतिक र प्राकृतिक दृष्टिले सम्पन्न सुदूरपश्चिमलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न संयुक्त प्रयास आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन्।