
सुदूरपश्चिमेलीको मुख्य पर्व गौराअन्तर्गत आज तेस्रो दिन ब्रतालु महिलाहरूले गौरादेवीलाई गौराघरमा भित्र्याउँदै छन्। स्थानीय भाषामा ‘भितरीकी गौरा’ वा ‘ठूली गौरा’ भनिने आजको दिनलाई विशेष महत्त्व दिइन्छ।

आज अमुक्ताभरण सप्तमीका अवसरमा महिलाहरू बिहानै नुहाइधुवाइ गरी साँझ फाग गीत गाएर गौरादेवीको पूजा गर्ने प्रचलन छ। यस दिन गौरा र महेश्वरको प्रतिमूर्ती स्थापना गरी फलफूल, बिरुडा र विशेष धागो ‘दुबधागो’ चढाउने परम्परा रही आएको छ।
स्थानीय संस्कृतिविद्हरूका अनुसार साउ, अपामार्ग, तीललगायतका वनस्पतिले प्रतिमूर्ती बनाई गौराघरमा भित्र्याउने चलन छ। महिलाले दुबधागो धारण गर्ने परम्परा पुरुषले जनै धारण गरेसरह महत्त्वपूर्ण मानिन्छ।


आज चढाइएको दुबधागो भोलि दुर्वाष्टमी अर्थात् अठ्यावालीका दिन महिलाले धारण गर्ने चलन छ। सप्तमीमा गौरा–महेश्वरको पूजा गरी राति मिठोमसिनो भोजन गर्ने र भोलि गौराष्टमीमा गौरालाई गौराघरबाट गौराखलामा लगेर विशेष पूजा गर्ने परम्परा रहेको छ।
गौरापर्वको समयमा ढुस्को, धमारी, चैत जस्ता परम्परागत खेल खेलिन्छन्। मौलिक पर्वका रूपमा मनाइने गौरामा परदेशीहरू पनि घर फर्किने भएकाले यसलाई सुदूरपश्चिममा दशैँभन्दा महत्त्वपूर्ण पर्वका रूपमा लिइन्छ।
































