
कैलाली कारागार प्रशासनले हालैको घटनामा घाइते भएका कैदीबन्दीमध्ये २९ जनालाई विभिन्न स्थानमा स्थानान्तरण गरेको छ। साउन २३ गते राति भएको हिंसात्मक घटनामा ४८ जना घाइते र एक जनाको मृत्यु भएको थियो।

जेलर चिरञ्जिवी सापकोटाका अनुसार उपचारपछि निको भएका कैदीलाई सात ठाउँमा सारिएको हो। स्थानान्तरण भएकामध्ये कञ्चनपुर र डडेल्धुरामा ६/६ जना, बाँकेको नौबस्ता र काठमाडौंमा ५/५ जना, डोटी र बझाङमा ३/३ जना तथा नवलपरासीमा १ जनालाई पठाइएको छ। साथै, एक जना कैदी कैद भुक्तान गरेर रिहा भइसकेका छन्।

अहिले १८ जना कैदीबन्दी अझै स्थानान्तरण हुन बाँकी छन्। तीमध्ये एक जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ भने बाँकी १७ जनालाई कोभिड अस्पतालमा राखिएको छ।
































