
कञ्चनपुर: भारतबाट दैनिक रूपमा ठूलो परिमाणमा तस्करीको सामान कञ्चनपुर भित्रिने गरेको पाइएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ शैलेश्वरी गणले साढे ६ महिनाको अवधिमा मात्र ८ करोडभन्दा बढी मूल्यका सामान र तस्करीमा प्रयोग भएका सवारीसाधन बरामद गरेको जनाएको छ।


तथ्यांकअनुसार २०८१ फागुनदेखि २०८२ भदौ १५ सम्म ८ करोड २ लाख ५७ हजार ६२५ रुपैयाँबराबरका अवैध सामान बरामद गरिएको हो। यस अवधिमा फागुन महिनामा सबैभन्दा बढी १ करोड ३९ लाख रुपैयाँभन्दा बढी मूल्यका सामान बरामद गरिएको थियो।
गड्डाचौकी, ब्रह्मदेव, दोधारा–चाँदनी, बेलडाँडी, बेलौरी र पुनर्वाससहितका नाकाबाट बरामद गरिएका सामान भन्सार चलान गरिएको सशस्त्र प्रहरी उपरीक्षक लोकेन्द्र भट्टले जानकारी दिए।
नेपाल प्रहरीले समेत दैनिक रूपमा तस्करीका सामान र सवारीसाधन बरामद गर्ने गरे पनि तस्करीमा संलग्न अधिकांश व्यक्तिलाई पक्राउ गर्न नसकिएको सुरक्षाकर्मीहरूले स्वीकार गरेका छन्।































