
इरानमाथि अमेरिकाले सैन्य आक्रमण सुरु गरेपछि अमेरिकी राष्ट्रपति Donald Trump ले कडा बयान सार्वजनिक गरेका छन्। आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोशल’मा आठ मिनेट लामो भिडियो सन्देश जारी गर्दै उनले अमेरिकाले इरानमा ‘प्रमुख युद्ध अभियान’ थालेको बताएका हुन्।

ट्रम्पका अनुसार उक्त अभियानको उद्देश्य अमेरिकी नागरिकको सुरक्षा सुनिश्चित गर्नु र इरानी शासनबाट उत्पन्न आसन्न खतरा अन्त्य गर्नु हो। उनले इरानी नागरिकहरूलाई प्रत्यक्ष सम्बोधन गर्दै आफ्नो सरकारलाई नियन्त्रणमा लिन आह्वान गरे। “यो सम्भवतः धेरै पुस्तासम्म तपाईंहरूको एक मात्र अवसर हुन सक्छ,” उनले भने।

इरानी शासनलाई ‘कठोर र खतरनाक समूह’को संज्ञा दिँदै ट्रम्पले इरानलाई कुनै पनि हालतमा आणविक हतियार प्राप्त गर्न नदिने स्पष्ट पारे। इरानले लामो दूरीका क्षेप्यास्त्र विकास गरिरहेको दाबी गर्दै उनले अमेरिकाले ती क्षेप्यास्त्र र सम्बन्धित उद्योग ध्वस्त पार्ने चेतावनी दिए। साथै, इरानी सेना तथा आईआरजीसीलाई आत्मसमर्पण गर्न उनले आह्वान गरेका छन्।
































