
इरानी इस्लामिक रिभोलुसनरी गार्डसँग सम्बन्धित अर्ध-सरकारी समाचार संस्था फोर्स न्युजले इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीकी छोरी, ज्वाइँ, नाति र बुहारी इजरायल–अमेरिकी संयुक्त आक्रमणमा मारिएको पुष्टि गरेको छ। सर्वोच्च नेताको कार्यालयका स्रोतहरूलाई उद्धृत गर्दै सो समाचार प्रकाशित गरिएको हो।

तर खामेनीको आफ्नै अवस्था बारे इरानी सरकारले अहिलेसम्म कुनै आधिकारिक पुष्टि गरेको छैन। यसैबीच, विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उनको पनि आक्रमणमा मृत्यु भएको दाबी गरेका छन्।

फोर्स न्युजका अनुसार आक्रमणले खामेनी परिवारमा गम्भीर क्षति पुर्याएको छ, तर सर्वोच्च नेता जिउँदो छन् कि मरेका हुन् भन्ने कुरा अहिलेसम्म निश्चित छैन। यस घटनाले मध्यपूर्वमा तनाव झनै बढाएको छ।

विशेषज्ञहरूले चेतावनी दिएका छन् कि खामेनीको मृत्यु वा हताहतका समाचारले क्षेत्रीय राजनीतिक र सैन्य गतिबिधिमा ठूलो असर पार्न सक्छ। इरानले आधिकारिक पुष्टि नगरेसम्म परिस्थितिको अस्पष्टता जारी रहनेछ।































