
इरानले गरेको पछिल्लो क्षेप्यास्त्र आक्रमणबाट कतारको मुख्य औद्योगिक क्षेत्र ‘रास लाफान’मा ठूलो क्षति पुगेको छ। बीबीसीका अनुसार, इजरायलले इरानको ‘साउथ पार्स’ ग्यास क्षेत्रमा आक्रमण गरेपछि त्यसको बदला स्वरूप तेहरानले निर्णायक कदम चाल्दै कतारस्थित ग्यास संरचनालाई निशाना बनाएको हो।

कतारको सरकारी पेट्रोलियम कम्पनीले पनि आक्रमण पुष्टि गर्दै ऊर्जा क्षेत्रमा असर परेको जनाएको छ। ‘साउथ पार्स’ विश्वकै सबैभन्दा ठूलो प्राकृतिक ग्यास भण्डारमध्ये एक हो, जहाँ इरान र कतार दुवैको संयुक्त उपस्थिति छ।
यस घटनाबारे इजरायलले अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन। तर अमेरिका, इजरायल र इरानबीचको बढ्दो तनावले मध्यपूर्वलाई थप अस्थिर बनाएको छ।


यसको प्रभाव दुबई, कतार, कुवेत, इराक, बहराइन र साउदी अरेबियासम्म फैलिएको छ। खाडी मुलुकमा कार्यरत ठूलो संख्याका नेपालीहरूका कारण नेपालमा पनि त्रासको वातावरण बढेको छ।
मध्यपूर्वको यो संघर्षले विश्व ऊर्जा बजारमा गम्भीर संकट निम्त्याउने संकेत देखिएको छ।































