
राजेश हमालको नाम दुरुपयोग गरेर भ्रष्टाचार गरिएको घटना सार्वजनिक भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेपछि उक्त प्रकरण उजागर भएको हो।

अछामको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउद, निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण साह र लेखापाल विमल साउदविरुद्ध सार्वजनिक सम्पत्ति दुरुपयोग गरेको आरोप लगाइएको छ। साथै, आर.जे. ट्वान्टी फोर न्युज तथा नव इन्द्रेणी फाउन्डेसनका अध्यक्ष रामजी लम्साल पनि प्रतिवादी बनाइएका छन्।
आयोगका अनुसार, हमालको नाम जोडेर डकुमेन्ट्री निर्माणका लागि १५ लाख रुपैयाँ बजेट छुट्याइएको थियो। त्यसमध्ये १२ लाख ७७ हजार २५० रुपैयाँ भुक्तानी गरिएको भए पनि प्रक्रिया मिचेर रकम हिनामिना गरिएको पाइएको छ।


अनुसन्धानले बिना प्रतिस्पर्धा सोझै सम्झौता गरिएको, ३५ प्रतिशतसम्म पेस्की दिइएको र बैंक ग्यारेन्टीसमेत नलिइएको खुलाएको छ। प्रस्तुत बिलहरू शङ्कास्पद तथा नक्कली रहेको र योजनाबद्ध रूपमा भ्रष्टाचार गरिएको निष्कर्ष निकालिएको छ।
आयोगले सबै प्रतिवादीलाई भ्रष्टाचार निवारण ऐनअन्तर्गत कारबाही गर्दै बिगो असुलसहित कडा सजायको माग गरेको छ।
































