
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका नयाँ राष्ट्रपतिले अमेरिकालाई युद्ध अन्त्यका लागि आह्वान गरेको दाबी गरेका छन्। सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा पोस्ट गर्दै ट्रम्पले इरानका नयाँ नेतृत्वलाई अघिल्ला राष्ट्रपतिको तुलनामा कम कट्टरपन्थी र बढी समझदार भएको उल्लेख गरेका छन्।

यद्यपि, ट्रम्पले युद्धविरामका लागि कडा सर्त अघि सारेका छन्। उनले ‘होर्मुजको जलडमरूमध्य’ पूर्ण रूपमा स्वतन्त्र र सुरक्षित नभएसम्म वार्ता नगर्ने स्पष्ट पारेका छन्। “जबसम्म त्यो हुँदैन, हामी इरानलाई पूर्ण रूपमा ध्वस्त पार्नेछौं वा तिनीहरूलाई ‘पाषाण युग’ मा फिर्ता पठाउनेछौं,” ट्रम्पले चेतावनी दिएका छन्।

ट्रम्पले ‘नयाँ राष्ट्रपति’ भनेर कसलाई संकेत गरेका हुन् भन्ने स्पष्ट छैन। हालैका इजरायली आक्रमणमा सर्वोच्च नेता अयातोल्लाह अली खामेनी सहित धेरै नेताहरू मारिएको र मोज्तबा खामेनी उत्तराधिकारी बनेको चर्चा छ। यता इरानमा भने सन् २०२४ मा निर्वाचित मसुद पेजेश्कियान नै राष्ट्रपति छन्। इरानले ट्रम्पको दाबीलाई अस्वीकार गर्दै आए पनि वार्ताका लागि आवश्यक इच्छाशक्ति रहेको भने जनाएको छ।































