
इरानसँगको युद्धविरामप्रति अधिकांश इजरायली नागरिक असन्तुष्ट देखिएका छन्। हिब्रु युनिभर्सिटी अफ यरुसेलमले गरेको नयाँ सर्वेक्षणअनुसार करिब दुई तिहाइ इजरायलीले युद्धविरामको विरोध गरेका छन्।

यद्यपि, इरानमाथि आक्रमण जारी राख्ने वा युद्धविरामलाई सम्मान गर्ने विषयमा जनमत विभाजित देखिएको छ। ३९ प्रतिशतले सैन्य कारबाही जारी राख्नुपर्ने बताएका छन् भने ४१ प्रतिशतले युद्धविराम पालना गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।

लेबनानको सन्दर्भमा भने ६१ प्रतिशतले हिजबुल्लाहविरुद्धको लडाइँमा युद्धविराम लागू गर्न नहुने बताएका छन्। यसैबीच, प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको लोकप्रियता घट्दै गएको देखिएको छ।

युद्ध सुरु हुँदा ४० प्रतिशत समर्थन रहेकोमा अहिले ३४ प्रतिशत मात्र नागरिकले उनलाई समर्थन गरेको सर्वेक्षणले देखाएको छ। सर्वेक्षणले इजरायलभित्र युद्ध रणनीति र राजनीतिक नेतृत्वप्रति असन्तुष्टि बढ्दै गएको संकेत गरेको छ।































