
फ्रान्स र बेलायतले स्ट्रेट अफ होर्मुजमा समुद्री जहाज आवागमन सहज बनाउन संयुक्त वार्ता र बहुराष्ट्रिय पहल गर्ने भएका छन्। फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले सोमबार सामाजिक सञ्जालमार्फत जानकारी दिँदै समुद्री स्वतन्त्र आवागमन पुनःस्थापना गर्ने उद्देश्यले यो पहल अघि सारिएको बताएका छन्।

उनका अनुसार फ्रान्स र बेलायतले इच्छुक देशहरूसँग मिलेर शान्तिपूर्ण बहुराष्ट्रिय मिसन गठनका लागि सम्मेलन आयोजना गर्नेछन्। उनले यो अभियान पूर्ण रूपमा रक्षात्मक प्रकृतिको हुने र कुनै पनि युद्धरत पक्षसँग संलग्न नरहने स्पष्ट पारे। म्याक्रोँले परिस्थितिअनुसार आवश्यक तयारीपछि मात्र मिसन कार्यान्वयन गरिने बताए।

यसैबीच बेलायत सरकारका एक प्रवक्ताले सीएनएनसँग कुरा गर्दै लन्डनले फ्रान्ससहित अन्य साझेदारसँग मिलेर व्यापक अन्तर्राष्ट्रिय गठबन्धन बनाउन प्रयास गरिरहेको जानकारी दिए। उनका अनुसार रणनीतिक रूपमा महत्वपूर्ण होर्मुज जलमार्गमा जहाज आवागमन अवरुद्ध हुन नदिने र अनावश्यक शुल्क वा अवरोध स्वीकार्य नहुनेमा जोड दिइएको छ।

यो पहलले क्षेत्रीय स्थिरता र अन्तर्राष्ट्रिय व्यापार प्रवाह सुरक्षित राख्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। वार्ताको मिति र स्थान चाँडै सार्वजनिक गरिनेछ। समाचारमा उल्लेख छ ।































