
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज स्ट्रेट र तेल आपूर्तिसम्बन्धी दिएको धम्कीप्रति चीनले कडा आपत्ति जनाएको छ। चीनले होर्मुज स्ट्रेट विश्वव्यापी ऊर्जा आपूर्तिको अत्यन्त महत्वपूर्ण व्यापारिक मार्ग भएकाले यसको नाकाबन्दी वा अवरोध गर्नु अस्वीकार्य हुने बताएको छ।

१२ अप्रिलमा ट्रुथ सोशलमार्फत ट्रम्पले अमेरिकी नौसेनाले होर्मुज स्ट्रेट हुँदै आवतजावत गर्ने जहाजहरूलाई रोक्ने प्रक्रिया सुरु गर्ने घोषणा गरेका थिए। उनले यसमा अन्य देशहरूको सहभागिता पनि रहने संकेत दिएका थिए।
चीनको विदेश मन्त्रालयका प्रवक्ता ग्वा जियाकुनले नियमित प्रेस ब्रिफिङमा प्रतिक्रिया दिँदै भने, “होर्मुज स्ट्रेट ग्यास र तेल आपूर्तिका लागि अत्यन्त महत्वपूर्ण जलमार्ग हो। यसको सुरक्षा र निर्बाध आवागमन सुनिश्चित गर्नु अन्तर्राष्ट्रिय समुदायको साझा हित हो।”


उनले अमेरिका र इरान दुवै पक्षलाई संयमता अपनाउन र द्वन्द्व चाँडै अन्त्य गर्न आग्रह गरे। साथै, चीनले विवाद समाधानका लागि रचनात्मक भूमिका खेल्न तयार रहेको पनि स्पष्ट पारेको छ।
तेल खरिदसम्बन्धी प्रश्नमा उनले चीन विश्वव्यापी ऊर्जा आपूर्ति स्थिर बनाउन सहकार्य गर्न तयार रहेको बताए। भेनेजुएलाबारे टिप्पणी गर्दै उनले कुनै पनि सार्वभौम देशलाई आफ्ना व्यापारिक साझेदार आफैं छनोट गर्ने अधिकार रहेको उल्लेख गरे।































